वाल्मीकिमा पहिलो पटक समावेशी शिक्षा कार्यक्रमकाे उद्घघाटन
पप्पु रेग्मी, बर्दघाट, ७ साउन २०८२ ।
बर्दघाट नगरपालिका वडा नम्बर १, पुनर्वासमा अवस्थित वाल्मीकि माध्यमिक विद्यालयमा समावेशी शिक्षा कार्यक्रमको औपचारिक उद्घघाटन सम्पन्न भएको छ।
विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहबीच बुधबार कार्यक्रमको शुभारम्भ गरिएको हो।
“शिक्षामा समान अवसर” भन्ने नाराका साथ सञ्चालनमा ल्याइएको समावेशी कक्षा सहयात्री नेपालको सह–आयोजनामा तथा सम नेपालको आर्थिक सहयोगमा शैक्षिक सत्र २०८२ देखि आजदेखि शुरू गरिएको हो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्दै, समावेशी शिक्षाको अवधारणा र महत्त्वबारे प्रकाश पार्दै, फरक क्षमता भएका बालबालिकाहरूलाई शिक्षाको मूल धारमा ल्याउने प्रयास सराहनीय काम गरेको बताउनुभयो।
कार्यक्रममा बर्दघाट नगर उप-प्रमुख रुद्र प्रकाश उपाध्यायले सहयात्री नेपालले अपाङ्गता भएका बालबालिकाको भविष्य उज्यालो बनाउन उल्लेखनीय योगदान गर्दै आएको बताउँदै, संस्थाको कार्यको प्रशंसा गर्नुभयो।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष सन्दीप सापकोटा, शिक्षा शाखा प्रमुख धनपति पौडेल, सामा संस्थाका सुरेश काफ्ले, दाउन्ने देवी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपचन्द्र प्रयासी, रोटरी क्लब अफ नवलपरासीका सुमन गोपाल आचार्य, विद्यालय प्रधानाध्यापक राम कुमारी पाध्या लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।
विद्यालयमा हाल २७ जना अपाङ्गता भएका बालबालिकाहरूले अध्ययन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।
कार्यक्रमको स्वागत मन्तव्य सहयात्री नेपालकी अध्यक्ष तिल कुमारी श्रेष्ठले राख्नुभएको थियो भने कार्यक्रमकाे सञ्चालन शिक्षक अर्जुन रिमालले गर्नुभएको थियो।







Comments