बर्दघाटमा कपडा बैंक स्थापना, विपन्नलाई हुने भयो राहत

पप्पु रेग्मी, बर्दघाट, ३ असार 

पश्चिम नवलपरासीको बर्दघाटमा विपन्न तथा आवश्यक पर्ने नागरिकहरूलाई लक्षित गरी कपडा बैंक स्थापना गरिएको छ। बर्दघाट जेसीज, क्लोथ एण्ड फुड बैंक नेपाल र बर्दघाट नगरपालिकाको संयुक्त पहलमा मङ्गलबार कपडा बैंकको औपचारिक उद्घघाटन गरिएको हो।

कार्यक्रम बर्दघाट जेसीज २०२५ का अध्यक्ष जेसी मोहन सापकोटाको अध्यक्षतामा सम्पन्न भयो भने नगर प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा बोल्दै, नगर प्रमुख श्रेष्ठले बर्दघाट जेसीजले सुरु गरेको सामाजिक अभियानलाई प्रशंसनीय कदम भन्दै सराहना गर्नुभयो। “प्रयोग नगरेर थन्क्याइएका कपडाहरू फाल्नुको सट्टा पुनः प्रयोगका लागि यस्ता अभियानमार्फत आवश्यक व्यक्तिलाई दिनु सकारात्मक पहल हो,” उहाँले भन्नुभयो। साथै उहाँले 'नपाउनेले कहाँ पाम्' भन्ने अवस्थालाई अन्त्य गर्न कपडा बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनाल, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी अध्यक्ष केशव पराजुली, बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष दीपक लम्साल, तथा अन्य वक्ताहरूले आफ्नो धारणा व्यक्त गरेका थिए ।

क्लोथ एण्ड फुड बैंक नेपालका अध्यक्ष कमल जि.सी.ले कपडा बैंकको उद्देश्य, सञ्चालन प्रक्रिया र योगदानबारे जानकारी दिँदै प्रयोगमा नआएका पुराना कपडा, झोला, किताब, जुत्ता आदि कसरी संकलन गर्ने भन्ने बिषयमा बाेल्नुभएकाे थियो ।

Comments