क्रान्तिकारी कम्युनिस्ट पार्टी बर्दघाटद्वारा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालनको तयारी

पप्पु रेग्मी जेठ२७

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति नवलपरासी अन्तर्गत बर्दघाट नगर संगठन समितिले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने तयारी गरेको छ। मंगलवार सम्पन्न नगर समिति पूर्ण बैठकले संस्थागत रूपमा मौलाएको भ्रष्टाचारले देशलाई खोक्रो बनाएको निष्कर्ष निकाल्दै आगामी दिनहरूमा सशक्त अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा इन्चार्ज क्षेत्र बहादुर थापाले नयाँ जनवादको खुडकिलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढ्नुपर्ने धारणा राखे। उनले देशको समृद्धिका लागि भ्रष्टाचार अन्त्य अपरिहार्य रहेको बताए।

जिल्ला सेक्रेटरी तथा पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयले भ्रष्टाचारविरुद्धको आन्दोलनलाई प्राथमिकतामा राख्दै जनतामाझ चेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याए।

यस अभियानको औपचारिक उद्घाटन असार ५ गते जिल्ला सदरमुकाम परासीमा हुने जानकारी दिँदै नगर संयोजक राम प्रसाद अर्गेजाले उद्घघाटन कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी थालिएको जानकारी दिए।

कार्यक्रममा पार्टी कार्यालय सदस्य गणेश बहादुर ढकाल, दुर्गा नारायण चौधरी, क्रान्तिकारी संयुक्त मोर्चाका संयोजक चुडामणि भण्डारी, सल्लाहकार बाबुराम मुसाफिर, गोबिन्द बहादुर साठिघरे लगायतको उपस्थिति रहेको थियो।

बैठक नगर संयोजक राम प्रसाद अर्गेजाको अध्यक्षता र ज्ञान बहादुर केसीको सञ्चालनमा सम्पन्न भएको हो।

Comments