राम्रा कामलाई पुरस्कार, कमजोरीलाई दण्ड हुनुपर्छ” : ऊर्जा मन्त्री खड्का

 

पप्पु रेग्मी, बर्दघाट, २६ जेठ

नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले स्थानीय तहलाई योजनाहरू समयमै सम्पन्न गर्न आग्रह गर्नुभयाे। बर्दघाट नगरपालिकाको १६औं नगरसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले बजेटको सदुपयोग र जिम्मेवार कार्यशैलीको आवश्यकता औंल्याउनुभयाे।

कार्यक्रम बर्दघाट नगर पालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षता, उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खडकाको प्रमुख आतिथ्यता तथा अन्य विशिष्ट महानुभावहरूको उपस्थितिमा बर्दघाट नगरपालिकाको १६ औं नगर सभामा आ. व. २०८२/२०८३ को नीति तथा कार्यक्रम सम्पन्न गरेको छ । १६ औं नगर सभामा मन्त्री खड्काले नगरपालिकामा करिब ९३ करोड रुपैयाँ बराबरको बजेट रहेको उल्लेख गर्दै, उक्त रकमलाई योजनाबद्ध र पारदर्शी तरिकाले खर्च गर्न निर्देशन दिदै  "बेरुजु घटाउने होइन, बेरुजु नै नराख्ने काम गर्नुपर्छ," भन्नुभयाे ।

उहाँले चालु खर्चभन्दा पुँजीगत खर्चलाई प्राथमिकता दिनुपर्ने भन्दै विकास निर्माणमा देखिएको ढिलासुस्ती, अनियमितता र बेथिति कुनै हालतमा स्वीकार्य नहुने बताउनुभयाे।

"राम्रा काम गर्नेहरूलाई पुरस्कार र कर्तव्यमा चुक्नेहरूलाई दण्ड दिनुपर्छ," मन्त्री खड्काले स्पष्ट चेतावनी दिनुभएकाे छ । “कामबाटै जवाफ दिने बेला आएको छ” भन्दै, हालको प्रणालीप्रति बढ्दो आलोचना र आक्रमणलाई सम्बोधन गर्दै मन्त्री खड्काले लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न परिणाममुखी काम गर्न जरुरी भएको बताउनुभयाे।

"नकारात्मक प्रचारको प्रतिकार गर्ने सबैभन्दा राम्रो उपाय उत्पादक र देखिने परिणाम दिने काम हो," उहाँले जोड दिनुभयाे।

कार्यक्रमको अन्त्यमा मन्त्री खड्काले सबै जनप्रतिनिधिहरू जनताप्रति उत्तरदायी हुनुपर्ने र प्रमुख दलहरूबीच सहकार्य गर्न सकेमात्र जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न सक्ने धारणा राख्नुभयाे।

Comments