डेगुंकाे प्रभाव र बच्ने उपाय
लेखकः बलवन्त कुर्मी, उपप्राध्यापक, बुटवल बहुमुखी क्याम्पस
कार्तिक२२नवलपरासी
डेगुं हालकाे समयकाे एक गम्भीर स्वास्थ्य समस्या हाे जसले नेपालमा मात्र नभई विश्वव्यापी रूपमा ठूलाे चुनौती सिर्जना गरिरहेकाे छ। विशेषगरी वर्षायाममा जमेको पानी र सफाइको अभावका कारण डेगुकाे प्रकोप झन् फैलिन थालेको छ। मच्छरबाट सर्ने यस राेगकाे प्रभाव नेपालका धेरैजसाे ठूलाे र साना शहरमा देखा परेकाे छ। डेगुं प्रायः एडिस इजिप्टाई प्रजातिको मच्छरले दिनको समयमा टोकेपछि सर्ने गर्दछ। यस मच्छरले सफा र स्थिर पानीमा अन्डा पार्ने भएकाले विशेष सावधानी आवश्यक हुन्छ।
डेगुं संक्रमण भएका व्यक्तिमा उच्च ज्वरो, टाउको दुख्ने, मांसपेशी र हड्डीको दुखाइ, आँखा पछाडि दुख्ने, र शरीरमा रातो डाबर आउने जस्ता लक्षणहरू देखिन्छन्। धेरैजसो अवस्थामा संक्रमित व्यक्ति केही हप्तामा ठीक भए पनि गम्भीर अवस्थाहरूमा रक्तश्राव, कलेजोमा असर, र श्वासप्रश्वासमा कठिनाइ जस्ता समस्या देखिन सक्छ। समयमै उपचार नगरेमा डेगुं ज्यानलिने राेगकाे रूपमा परिणत हुन सक्छ।
नेपालका धेरैजसो शहरी क्षेत्रमा जनसंख्याको चाप, सफाइको अभाव, र जनचेतनाको कमीले गर्दा डेगुं नियन्त्रणमा कठिनाइ भइरहेको छ। कतिपय व्यक्तिहरूले डेगुंलाई सामान्य ज्वरो सम्झेर अस्पताल नजाने, घरेलु उपचारमा निर्भर हुने हुँदा समस्या झन् जटिल बन्ने गर्दछ। यसबाहेक जनतालाई सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन र मच्छर नियन्त्रणका कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा पनि यस रोगको जोखिम उच्च छ।
डेगुंबाट बच्न केही उपायहरू अवलम्बन गर्न सकिन्छ। सबैभन्दा पहिले, आफ्नो वरपरकाे वातावरण सफा राख्ने, स्थिर पानी जम्न नदिने, फूलदानी, टायर, कचौरा, र अन्य पानी जम्मा हुने वस्तुहरूलाई खाली राख्ने काम गर्नुपर्छ। यस्ता ठाउँहरूमा मच्छरले अन्डा पार्ने भएकाले नियमित रूपमा पानी फालेर वा छोपेर राख्दा मच्छरको संख्या नियन्त्रणमा आउँछ। साथै, घरभित्र र बाहिर मच्छर नजिक आउन नदिन मच्छरधपाउने झुल वा मच्छर धपाउने मलमहरूको प्रयोग गर्नुपर्छ।
स्वास्थ्यकर्मी र समुदायबीच जनचेतना कार्यक्रम सञ्चालन गरी डेगुं राेगका बारेमा जानकारी दिने, ज्वरो आएमा तुरुन्तै स्वास्थ्य संस्थामा जान प्रोत्साहन गर्ने, र मच्छर नियन्त्रणका लागि सरकारले विशेष अभियान सञ्चालन गर्ने जस्ता उपायहरू अपनाउनु अत्यावश्यक छ। डेगुं नियन्त्रणका लागि सबै नागरिकहरू सजग, सचेत, र सक्रिय भएर लाग्नुपर्छ। केवल सरकारको प्रयासले मात्र यो रोगलाई रोकथाम गर्न सक्दैन, यसका लागि हरेक नागरिकको जिम्मेवारी महत्त्वपूर्ण हुन्छ।
डेगुं नियन्त्रणमा समयमै उचित कदम चाल्न सकेमा यस रोगले नेपालकाे स्वास्थ्य प्रणालीमा पारेको चुनौतीलाई न्यून गर्न सकिन्छ र जनस्वास्थ्यलाई सुरक्षित राख्न सकिन्छ।हाल प्रतापपुर गाउँपालिकामा पनि यसकाे संक्रमण अधिक छ ।







Comments