विजय लघुवित्त वित्तीय संस्थाको भुताहामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

पप्पु रेग्मी 

बर्दघाट, नवलपरासी (पश्चिम), २३ जेठ 

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बर्दघाट–९ भुताहाको आयोजनामा शुक्रबार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको छ । 

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दघाट - ९ काे शाखा प्रमुख हुम कुमारी ज्ञवलीको अध्यक्षता र ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी सहायक निरीक्षक शिव कुमार पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले ऋण समयमै तिर्ने संस्कारले मात्र असल ऋणीको परिचय स्थापित हुने बताउँदै, ऋणलाई सम्बन्धित व्यवसाय वा उद्यममा लगानी गरी आम्दानी सिर्जना गर्न सके जीवनयापन सहज हुने धारणा राख्नुभयो । 

पछिल्लो समय केही ऋणीहरू संस्थाका मापदण्ड विपरीत अटेरी गर्ने प्रवृत्ति देखिएकोप्रति चिन्ता व्यक्त गर्दै, उहाँले समयमै कर्जा चुक्ता गर्न सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा ईन्द्रेणी सामाजिक विकास केन्द्र, पञ्चनगरका कार्यकारी निर्देशक पुष्पराज आचार्यले ‘वित्त’ र ‘तिय’ को सरल अर्थ खुलाउँदै वित्तीय साक्षरताको आवश्यकता सबैको जीवनमा अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले वित्तीय साक्षरता अपनाउन सके जीवन मात्र होइन व्यवसायिक यात्रा पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

शाखा प्रमुख ज्ञवलीले संस्थाका गतिविधिबारे जानकारी दिँदै कर्जा लिएर अरुलाई चलाउन दिने प्रवृत्तिले समस्याहरू बढाउने भएकाले त्यसलाई रोक्नु पर्नेमा जोड दिनुभयो। कर्जा लिए पछि लगानीमुखी बनाउने हो भने फिर्ता गर्न कुनै कठिनाइ नहुने उहाँको भनाइ थियो।

कार्यक्रममा कामना सेवा विकास बैंक, बासा शाखाका लोन अधिकृत विजय नेपाली, ईलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार मनिराम हरिजन लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमका प्रमुख प्रशिक्षक तथा अनुगमन अधिकृत दीपेन्द्र प्रसाद चौधरीले घरायसी आम्दानी, खर्च र बचतको व्यवस्थापन बारे प्रशिक्षण प्रदान गर्नुभयो । उहाँले फजुल खर्च घटाएर बचत गर्न सके आर्थिक रूपमा आत्मनिर्भर बन्न सकिने कुरा स्पष्ट पार्नुभयो।

प्रशिक्षण सत्रमा चौधरीले वित्तीय साक्षरता सम्बन्धी अर्थ, महत्व, सिद्धान्त र विभिन्न क्षेत्रहरूको व्याख्या गर्दै प्रस्तुतीकरण गर्नुभएको थियो । सहभागीहरूले पनि वित्तीय संस्था वा समूहसँग आबद्ध भए पछि संस्था–निर्धारित मापदण्ड अनुसार ऋण लिने, समयमा तिर्ने र समूहगत छलफलमार्फत अटेरी गर्नेहरूप्रति दबाब सिर्जना गर्ने उपायहरूको सिकाइ प्राप्त गरेको बताएका थिए ।

 प्रमुख ज्ञवलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रमुख प्रशिक्षक चौधरीले गर्नुभएको थियो । भुतहा शाखाअन्तर्गत हाल १ सय १३ वटा समूहरू सञ्चालनमा छन् भने कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो ।

Comments