उदघाेषण तालिम सम्पन्न

पप्पु रेग्मी 

बर्दघाट, २३ चैत्र — बर्दघाट नगरपालिका वडा नं. १२, सपहिया नवलपरासीस्थित दविलामा आयोजित दुई दिने उदघाेषण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। दलित जागरण समूहको आयोजनामा तथा बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिम  सम्पन्न गरिएको हो ।

समापन कार्यक्रमकाे अध्यक्षता दलित जागरण समूहकी अध्यक्ष मराक्षी देवी हरिजनको अध्यक्षता तथा वडा नं. १२ की महिला वडा सदस्य सकुन्तला धरिकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि धरिकारले  यस उदघाेषण तालिमले सहभागीहरूलाई उदघाेषण कला सिक्न सघाएको उल्लेख गर्दै निरन्तर अभ्यासद्वारा भविष्यमा बाह्य उदघाेषकको आवश्यकता नपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले महिलाहरू निडर भई अभिव्यक्त हुन र नेतृत्व गर्न सक्षम हुनुपर्नेमा विशेष जोड दिनुभयो।

समापन कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी राजु हरिजन, बर्दघाट प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रशिक्षक उत्तमध्वज के.सी., पत्रकार एवं प्रशिक्षक पप्पु रेग्मी, जहदा खानेपानी संस्थाका सदस्य टंक अधिकारी, साथै प्रशिक्षार्थी हरिलाल धरिकार र कुमारी धरिकारले तालिमको अनुभव तथा महत्त्वबारे आफ्ना धारणा राख्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य अञ्जना धरिकारले प्रस्तुत गर्नुभएको थियो भने सञ्चालन निरा नेपालीले गर्नुभएको थियो। तालिममा कुल ६० जना सहभागी रहेको जानकारी संस्थाका सल्लाहकार राम मिलन धरिकारले दिनुभयो।

Comments