निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न
नारायण भण्डारी
पाल्हिनन्दन गाउँपालिका वडा नं ४ पल्हिनन्दन आधारभुत अस्पतालमा पाल्हिनन्दन गाउँपालिका तथा इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा १ दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । पाल्हिनन्दन गाउँपालिकामा मानसिक स्वास्थ्य समस्या भएका विरामीको चाप बढ्दै गईरहेको अवस्थामा यो शिविर संचालन गरिएको हो । कार्यक्रम गाउँ पालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा करिब १०८ जनाले सेवा लिएकोमा ७८ जनामा मानसिक स्वास्थ्य समस्या देखिएको अस्पतालका निमित्त प्रमुख बृजेश यादवले जानकारी दिनु भयो । सो क्रममा मानसिक स्वास्थ्य सँग सम्बन्धित विरामीहरु खुलेर शिविर सम्म आउनु राम्रो रहेको र यो रोग पनि अन्य रोग जस्तै सामान्य रहेको शिविरमा खटिएका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विक्रम काफ्लेले बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भेषराज शर्माले अहिलको अवस्थामा मानसिक स्वास्थ्य समस्या भएका विरामीको संख्या वृद्धि भईरहेकोमा सो समस्या पहिचान र उपचारका लागि इन्द्रेणी सामाजिक विकास मञ्च सँग समन्वय गरेर कार्यक्रम संचालन गर्नु अत्यन्तै सराहनीय रहेको उल्लेख गर्दै यसको नियमित फ्लोअप हुनु पर्ने कुरा व्यक्त गर्नु भयो सो कार्यक्रममा बोल्दै पालिका अध्यक्षले गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहज बनाउना लागि औषधी खरिद गरेर सबै स्वास्थ्य संस्थामा पठाईएको र उपचार पनि भईरहेको बताउनु भयो । जसले गर्दा लुकाएर राखेका यस्ता खालका समस्याहरुको समाधान हुने विश्वास व्यक्त गर्नु भयो । सो कार्यक्रमको स्वागत तथा कार्यक्रमको उदेश्य माथी प्रकाश इन्द्रेणी सामाजिक विकास मन्चका कार्यकारी निर्देशक पुष्पराज आचार्यको रहेको थियो भने इन्द्रेणीले पालिका हरुको समन्वयमा स्वास्थको क्षेत्रमा काम गर्दै आइरहेको र अबका दिनमा पनि साथ र सहकार्य गरेर अगाडि बढिने इन्द्रेणीका कार्य बाहक अध्यक्ष बिमल चन्द्र घिमिरेले बताउनु भयो । सो कार्यक्रम इन्द्रेणी सामाजिक विकास मञ्चका नारायण भण्डारीले संचालन रहेको थियो ।







Comments