अबैध रुपमा सुस्ता भित्र्याईएका कुखुरा नष्ट

रबिन्द्र यादव / पश्चिम नवलपरासी 

३० भदौ 

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ मा आइतबार दिउँसो १२:३० बजे भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेको भारतीय कुखुरा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरले नियन्त्रणमा लिई नष्ट गरेको छ ।

 

भारतबाट भन्सार राजस्व छलेर अवैध रूपमा नेपाल ल्याएको भन्दै १ सय ७० वटा ब्रोइलर कुखुरा नष्ट गरेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बलिनगरका सशस्त्र प्रहरी निरीक्षक संतोष सापकोटाले जानकारी दिए ।

 

मोटर साइकलमा लोड गरेर ल्याउँदै गरेको ब्रोइलर कुखुरा सुस्ता गाउँपालिका-५ बनकट्टीमा सशस्त्र प्रहरी निरीक्षक सापकोटाको नेतृत्वमा रहेको गस्ती टोलीले  नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरीलाई देख्नासाथ अवैध रूपमा भारतबाट कुखुरा ल्याउने मानिस ब्रोइलर कुखुरा फालेर मोटरसाइकल सहित फरार भएको सशस्त्र प्रहरी गण नं २६ बेलाशपुरले जनाएको छ । अहिले उनीहरुको खोजी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको हो । करिब ४ क्विन्टल रहेका कुखुराको मुल्य अन्दाजी डेढ लाख रहेको छ ।

 

नियन्त्रणमा ल्याइएको कुखुरा स्थानीय भद्रभलादमी, पत्रकार र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

 केही समयदेखि भारतबाट मोटर साइकल र साइकलमा कुखुरा ल्याउने साना व्यापारी सक्रिय छन । सशस्त्र प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी गण नं २६ बेलाशपुरका गणपति प्रकाश वाग्ले आफ्ना मातहतका सम्पुर्ण वि ओ पी , कमाण्ड पोष्ट र सुरक्षा बेस क्याम्प लगायतका लाई चोरी तस्करी नियन्त्रण गर्न कडा निर्देशन दिएका छन ।

Comments